Tuesday, November 13, 2012

विमानस्थलमा हवाई सूचना प्राप्त गर्ने नयाँ प्रविधि जडान

२७ कात्तिक, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरनेटको माध्यमबाट सम्पूर्ण हवाईसम्बन्धी सूचना आदानप्रदान गर्न सकिने एयर ट्राफिक सेवा सन्देश परिचालित (एएमएचएस) प्रणाली र नयाँ उडान योजना, २०१२ को आज शुभारम्भ गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले सन् २००० मा जडान गरिएको पुरानो प्रविधिको प्रणालीलाई अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन -आइकाउ) एसिया प्रान्त क्षेत्रीय हवाई उडड्यन योजनाअनुरुप सो प्रणाली स्थापना गरिएको हो । यो प्रणालीलाई ‘एटिएस म्यासेज हृयान्डलिङ सिस्टम’ नामाकरण गरिएको छ । एयरवेज अन्तर्राष्ट्रिय न्युजिल्यान्डको सहयोगमा नमुना र विस्तृतीकरण गरी अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा रु ९ करोडको लागतमा सो प्रणाली जडान गरिएको सोमवार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
आइकाउले नोभेम्बर १५ सम्ममा यो प्रणाली जडान गरिसक्न हवाई उड्डयन प्राधिकरणलाई परिपत्रसहितको निर्देशन दिएको थियो । जसअनुसार पुरानो प्रविधिलाई प्रतिस्थापन गरी यो प्रणालीलाई जडान गरिएको हो । नेपालको हवाई सञ्जाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नका लागि यो प्रविधि कोशेढुङ्गा सावित हुने र यो प्रविधिमार्फत भारतको मुम्बई र चीनका बेइजिङसँग सिधै सम्पर्क कायम गरी हवाई उडानसम्बन्धी सम्पूर्ण सूचनाको आदानप्रदान गर्न सकिनेछ ।
यो प्रविधिमा आइकाउबाट निर्देशित नयाँ उडान योजना, २०१२ अनुरुप सञ्चालन क्षमता रहेको, एयर ट्राफिक नियन्त्रणका लागि आवश्यक पर्ने उडान स्टि्रपहरु स्वचालितरुपमा सुविधा उपलब्ध भएको, मौसमलगायतका जानकारी सहजरुपमा प्राप्त गर्न सकिनेछ । त्यस्तै, मुलुकका आन्तरिक दशवटा विमानस्थलहरुसँगको सञ्जाललाई पनि यो प्रविधिले जोड्ने छ । सो प्रणालीको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले नयाँ नयाँ प्रविधिलाई आत्मसात् गर्दै हवाई उडानलाई सुरक्षित र विश्वसनीय तथा भरपर्दो बनाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले हवाई उडड्यन क्षेत्र प्राविधिक र प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले यस क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको प्रयोग हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । सो मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पुरानो प्रविधिलाई छाडेर नयाँ प्रविधिलाई आत्मसात् गर्दै दक्ष प्राविधिक र जनशक्तिका साथ काम गर्नुपर्ने आवश्यकता औँँल्याउनुभयो । हवाई विभागका महानिर्देशक त्रिरत्न मानन्धरले चार वर्षको अथक प्रयासमा उच्चस्तरीय नयाँ सूचना प्रविधिको स्थापना गराउन प्राधिकरणका कर्मचारीहरुको प्रयासमा सफलता मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा प्राधिकरणका उपनिर्देशक हंशराज पाण्डे, प्राधिकरणका इन्जिनियर सञ्जिवसिंह कठायत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनलगायतले जडान गरिएको नयाँ प्रविधिका बारेमा विस्तृत व्याख्या गर्नुभएको थियो । नेपालको हवाई सेवा भ्वाइस रेकर्ड प्रणाली, डाटा प्रणाली हुँदै अहिलेेको प्रविधिमा पुगेको हो । नेपालले हवाई सेवासम्बन्धी कोलकाता हुँदै मुम्बईबाट मात्र अन्तर्राष्ट्रिय हवाई उडानका बारेमा जानकारी प्राप्त गर्दै आएकोमा अब नयाँ प्रविधिको जडानपछि चीनको बेइजिङबाट समेत सहजरुपमा यस किसिमका सूचनाहरु प्राप्त हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेणी ४३ लाख व्यक्तिहरुले हवाई सेवा प्राप्त गरिरहेका छन् भने अहिले वाषिर्क यो विमानस्थलमा एकलाख दुई हजार हवाई उडान हुँदै आएका छन् । सो विमानस्थलमा दैनिक १८ घण्टासम्म सञ्चालन रहने र औषत प्रति डेढ मिनेटमा एउटा उडान हुने गर्दछ ।

No comments:

Post a Comment

Comment Here