Tuesday, November 13, 2012


यसरी गरे एमाओवादी र सरकार बजेट ल्याउन दौडधूप

 २८ कात्तिक, काठमाण्डौ । सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीच सहमति नजुटेपछि बजेट अन्योलमा परेको छ । सत्तारूढ गठबन्धनले दलहरूबीच सहमति नजुटे पनि सोमबार बजेट ल्याउने निर्णय गरेको थियो । तर, कांग्रेस, एमालेलगायत विपक्षी दलहरूको असहमति र राष्ट्रपतिको आग्रहपछि अन्तिम अवस्थामा सरकार पछि हटेको हो ।
बजेट ल्याउन सत्तारूढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म दौडधुप गरेका थिए । अध्यक्ष दाहालले सोमबार कांग्रेस र एमालेका शीर्ष नेतासँग बजेटको विषयमा छलफल गरेको थियो भने अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवसँगको भेटवार्ता गरेका थिए । अर्थमन्त्री पुनले राष्ट्रपति यादवसँग भेटवार्ता गरेपछि सहमतिका लागि थप पहल गर्ने भन्दै सोमबार ३ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । राष्ट्रपतिसँगको भेटमा सहमतिमा मात्र बजेट ल्याउन आग्रह गरिएको र शीर्षस्थ तीन दलका नेताहरूको बैठकमा समेत सहमति जुट्न नसकेपछि सहमतिमा बजेट ल्याउने आशयका साथ सरकार पछाडि हटेको हो ।आजको सौर्य दैनिकमा समाचार छ ।
 सत्तारूढ गठबन्धनले सोमबार जसरी भए पनि बजेट ल्याउने तयारी गरेको थियो । मन्त्रिपरिषद्को बैठक पनि ३ बजेका लागि तय भइसकेको थियो । त्यसअघि बजेटबारे अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री डा। बाबुराम भट्टराईबीच छलफल भएको थियो । करिब साढे ४ खर्ब रुपियाँको बजेटको तयारी अर्थ मन्त्रालयले गरिसकेको थियो । आसन्न चुनावका लागि करिब १० अर्ब, मल अनुदानस्वरूप ३ अर्ब, मध्यपहाडी लोकमार्गका लागि २ अर्ब, सिक्टा सिंचाइका लागि १ अर्ब रुपियाँसहितको बजेट ल्याउने तयारी प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा अर्थ मन्त्रालयले गरेको थियो । अर्थमन्त्री वर्षमान पुनले सोमबार दिउँसो १ बजे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङसमेत गरे पनि ३ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकबाट पारित गराउने कार्यक्रम नै स्थगन गरिएको हो । सरकारले ३ बजेको मन्त्रिपरिषद् बैठकबाट बजेट पारित गरेर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको थियो ।
यसअघि माओवादीले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई तिहारअघि नै बजेट ल्याउन निर्देशन दिएको थियो ।त्यसलगत्तै शनिबार सत्तारूढ दलहरूको गठबन्धनले सोमबारसम्म बजेटमा सहमति जुटाउन पहल गर्ने र सहमति भए पनि नभए पनि सोमबार नै मन्त्रिपरिषद् बैठकले बजेट पारित गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो । सत्तारूढ दलहरूको तयारीअनुरूप नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतृत्वलाई बजेटबारे छलफल गर्न बोलाएका थिए । तर, कांग्रेस-एमालेले बजेटका विषयमा मात्रै छलफल नगर्ने भन्दै दाहालले बोलाएको बैठक बहिष्कार गरेका थिए । सोमबार पनि अध्यक्ष दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म सहमतिका लागि दौडधुप गरेका थिए । तर, सहमति नजुटेपछि एमाओवादी पछि हटेको थियो ।

No comments:

Post a Comment

Comment Here