Friday, November 2, 2012


एप्पलले फेरि हार्‍यो सामसुङसँग

अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइनबारे कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो ।
तर, एप्पपले राखेको सूचना अदालतको आदेशअनुसार नभएको भन्दै सामसुङले उजुरी दिएको थियो । सामसुङको दावीसँग सहमति जनाउँदै अदालतले २४ घण्टाभित्र पूरानो सूचना हटाउन भनेको छ भने त्यसपछि नयाँ सूचना आफ्नो वेबसाइटमा राख्न भनेको छ । नयाँ सूचना राख्न एप्पलले १४ दिनको समय मागेपनि अदालतले अस्वीकार गरिदिएको छ । बेलायती अदालतको यो फैसला युरोपेली संघमा लागू हुनेछ । -एजेन्सीको सहयोगमा

ओबामा सम्झेर मृत्युशैयाबाट जुरुक्कै

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा विश्वकै शक्तिशाली व्यक्ति हुन् भन्नेमा दुइमत छैन । तर यी ओबामा शक्ति यति विधि शक्ति रहेछ की यिनको नाम सम्दैमा मान्छे मृत्युशैयाबाट जुरुक्कै उठ्दो रहेछ ।
सायद यो समाचार पढिरहँदा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर विश्वास नगर्नुको के अर्थ र ? आखिर भएको छ यस्तै । बेलायतका एक युवक बाराक ओबामालाई सम्झेर मृत्युशैया (कोमा) बाट जुरुक्कै उठेका छन् । नर्थह्याम्पटनका १९ वर्षीय ततेन्दा कामोशो नामका ती युवाले आफुलाई बाराक ओबामा सम्झे र कोमाबाट जुरुक्कै उठे ।
समाचार अनुसार एक घटनामा आक्रमणकारीले चक्कुले रोप्दा गम्भीर घाइते भएर अस्पतालमा कोमामा पुगेका ततेन्दा एकाएक ब्युँझिए र आफु बाराक ओबामा भएको र आफुले ओबामाले जस्तै ६० लाख जनताको आवाज एकैपटक सुन्न सक्ने दाबी गर्न थाले । उनले आफुमा इश्वरीय शक्ति समेत रहेको बताउन थाले ।
चक्कु रोपिएको चोटमा आफुलाई बाराक ओबामा सम्झने मानसिक समस्या थपिएपछि उनलाई थप उपचारका लागि मानसिक अस्पतालमा पठाइएको छ । उनी पूरै निको हुन अझै चार महिना लाग्ने बताइएको छ । चक्कु प्रहार पछि उनीमाथि टाउको थप मुक्का प्रहार भएकाले उनको मानसिक अवस्था खल्बलिएको हुनसक्ने अनुमान गरिएको छ ।

विश्वकै महंगो घर बिक्रिमा, मुल्य झण्डै १४ अर्ब (फोटोफिचर सहित)

बेलायतमा विश्वकै सबैभन्दा महंगो घर बिक्रिका लागि तयार भएको छ । घरका शौखिनहरुले यो घर खरिद गर्न सक्छन् तर साथमा टन्नै गाँठ हुनु भने आवश्यक छ । त्यो पनि थोरै होइन झण्डै १४ अर्ब रुपैयाँ ।

हामीजस्ता धेरैका लागि यो आकाशको फल आँखातरी मर भनेजस्तै हो । तर लण्डनको यो घर खरिद गर्न धेरै अरबपतिहरुको रस्साकस्सी हुने अनुमान गरिएको छ ।
२१ हजार ५ सय वर्गफिटमा बनेको यो घरमा ७ बेडरुम छन् । साथै ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । यो घर अत्याधुनिक प्रविधियुक्त छ, अर्थात् यसमा आइप्याडबाट नियन्त्रण गर्न सकिने विजुलीको व्यवस्था छ ।
यो घर बनाउन १० करोड बेलायती पाउण्ड खर्च भएको थियो । यसको मार्केटिङको जिम्मा सेविल्स कम्पनीलाई दिइएको छ ।
लण्डनको रिजेन्ट पार्कमा बनेको वान कर्नवाल टेरास नाम दिइएको यो घरको डिजाइन प्रख्यात आर्किटेक्ट डेसिमस बर्टनले गरेका हुन् । डेसिमस ती व्यक्ति हुन् जसले बेलायती राजदरबारको पनि डिजाइन गरेका हुन् । हेरौँ यो बहुमुल्य घरका केही झलक