अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित
२२ कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो पटक निर्वाचित भएका छन् । डेमोक्रयाट् उम्मेदवार ओबामाले रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई पराजित गरेका हुन् । जितका लागि चाहिने २ सय ७० मतमध्ये कुल कुल ५ सय ३८ इलेक्ट्रोल मतमा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले मतगणना जारी रहँदासम्म ३०३ इलेक्ट्रोल मत पाएका छन् भने रोम्नीले २०६ मत पाएको बीबीसीले जनाएको छ। अझै २९ इलेक्ट्रोल मत गणना हुन बाँकी छ । अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उनले भारी मत अन्तरमा जितेका छन् । 

ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् । ओवामाले क्लालिफोर्निया, ओरेगन, न्युयोर्क, ओहायो, आईवा, विसकन्सिस, कोलोराडो, न्यु मेक्सीको लगायतका क्षेत्रमा जित हासिल गर्नु भएको छ । जित हासिल गरे लगत्तै रोम्नीले ओबामालाई टेलिफोन गरी विजयी भएकोमा बधाई दिनु भएको थियो ।
जितपछि सम्वोधन चिकागोमा आफ्ना समर्थकलाई सम्वोधन गर्दै राष्ट्रपति बाराक ओबामाले आफ्नो जित राष्ट्रकै जित भएको वताउनुभयो । उहाँले आफु सवै जनताको साथ लिएर अघि वढ्न चाहेको वताउनुभयो । ओबामाले मुलुकलाई कसरी अघि वढाउन भन्नेवारेमा रोम्नीसंग छलफल तथा सल्लाह सुझाव लिएर अघि वढ्ने प्रतिवद्धता जनाउनु भयो । ओबामाले दुवै डेमोक्रयाट् र रिपब्लिकन पार्टीका नेताहरुसंग मिलरे मुलुकका सामू रहेका चुनौति सामना गर्न रणनीति तयार गर्ने वताउनुभयो । ओबामाले भन्नुभयो,’हामीले अहिलेसम्म जति प्रगती गरेका छौ । अब अघि वढ्न हामीसंग अझै चुनौति छ । चुनौतिको सामना तपाई हामी मिलेर गर्नुपर्छ ।’
राष्ट्रपतिमा पराजित भए लगत्तै बोष्टनमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै रोम्नीले दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा ओबामालाई बधार्इ तथा कार्यकालको शुभकामना दिदै मुलुकका सामू रहेका मूख्य चुनौतीहरुको सामना गर्दै अघि वढ्न आग्रह गर्नु भयो । रोम्नीले भने,’निर्वाचनको मत हाम्रो पक्षमा परेन । तैपनि मलाई के विश्वास छ भने हामीले सिद्धान्तमा जित हासिल गरेका छौँ । त्यसैले म के विश्वास दिलाउन चाहान्छु भने म तपाईहरुको चाहान र आशालाई मर्न नदिन फरक दिशावाट काम गर्छु ।’
रोम्नीले सन् २००८ मा ओबामाले जितेका राज्यहरु नर्थ क्यारोलिना र इन्डियानामा जित हासिल गरे । माथिल्लो सदन सिनेटमा डेमाक्रायाट्ले आफ्नो पकडलाई कायमै राखेको छ । तर तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा भने विपक्षी रिपब्लिकन पार्टीले आफ्नो पडक वलियो वनाएको छ । सिनेट अर्थात माथिल्लो सदनमा डेमोक्रयाट्ले ५१ तथा रिपब्लिकनले ४४ सिट पाएका छन् भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रयाट्को १ सय ६९ र रिपब्लिकनको २ सय २३ रहेको छ । यद्यपी मतगणना अझै जारी छ ।
यसैवीच भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहले दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति ओबामालाई टेलिफोन गरी कार्यकालको शुभकामना तथा वधाई दिएका छन् ।