Wednesday, November 21, 2012


गङ्गारामका छोराछोरी पढाउने जिम्मा माओवादीले लियो

शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउन पुगेका गङ्गारामका छोराछोरीलाई पढाउने जिम्मा एमाओवादी सिरहाले लिएको छ ।पिप्रा प्रपी-४ घर भएका मृतक माओवादी कार्यकर्ता गङ्गारामका दुई छोरा, एक छोरी र श्रीमती छन् । माओवादीका मिथिला मधेस राज्य संयोजक तथा केन्द्रीय पोलिटब्यूरो सदस्य विश्वनाथ साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य रामरिझन यादवलगायतका नेताहरु मृतक गङ्गारामको घरमै पुगेर उहाँको छोराछोरीलाई पढाउने प्रतिबद्धता जनाएका हुन् ।
मृतक गङ्गारामको किरियाकर्म खर्चका लागि तत्काल रु १० हजार सहयोग स्वरुप प्रदान गरेको एमाओवादी सिरहाका सहसेक्रेटरी जिवछ यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “हामीले सक्दो सहयोग निरन्तर गरिरहने छौँ ।”गङ्गारामको गत आइतबार सिरहा चौहर्वा सडकखण्डको नहरामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । शिक्षामन्त्री दीनानाथ शर्मालाई बन्दीपुरमा स्वागत गरेर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए ।

मेलम्ची खानेपानी आयोजना २०७२ सम्म सम्पन्न हुने

 ५ मंसिर, काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना २०७२ साल फागुनसम्म सम्पन्न गर्ने संशोधित नयाँ कार्ययोजना सार्वजनिक भएको छ  । राष्ट्रिय गौरवको उक्त आयोजनाको मुख्य काम २७.५ किलोमिटर लामो सुरुङ र इन्टेक निर्माणको ठेक्का चाइना रेलवे १५ ब्यूरो ग्रुपसँगको करार सम्झौता रद्द भएपछि संशोधित नयाँ कार्ययोजना केही दिनअघि सार्वजनिक गरिएको हो । आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको मेलम्ची खानेपानी आपूर्ति विकास बोर्डले सुरुङ र इन्टेक निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र तयार गरिसकेको छ भने यसैसाताभित्र बोलपत्र आहृवान गर्ने भएको छ । आगामी पुसको अन्त्यसम्ममा सुरुङ र इन्टेक निर्माणको काम प्रारम्भ गर्ने गरी आउँदो शुक्रबारसम्ममा अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरिने आयोजनाका निमित्त कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।
 एक दुईदिनभित्र हुने बोर्ड बैठकले विस्तृत कार्यविवरणसहितको बोलपत्र प्रकाशन गर्ने जानकारी दिँदै उहाँले सरकारले उच्च प्राथमिकता दिएको मेलम्ची आयोजनाको काम युद्धस्तरमा अघि बढ्ने दाबी गर्नुभयो । पुस मसान्तभित्र सुरुङ खन्ने लक्ष्य रहेको तथा चाइना रेलवे ग्रुपले पूरा गरेको स्थानबाट नयाँ काम सुरु हुने जानकारी दिँदै उहाँले आयोजनाको परामर्शदातासँग आज छलफल गरी निर्माणसम्बन्धी सबै विषय टुङ्ग्याइने बताउनुभयो । चाइना रेलवे ग्रुपले ६.५ किलोमिटर सुरुङ खनिसकेको छ ।
 दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको उक्त आयोजनामा ४६ करोड ४० लाख अमेरिकी डलरभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । सुरुङ र इन्टेक निर्माणका लागि मात्र करिब १० करोड डलर खर्च हुने बोर्डले जनाएको छ । आयोजनाका लागि सर्वाधिक रकम सहुलियतपूर्ण ऋणस्वरुप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको एसियाली विकास बैंकले जुनसुकै हालतमा काठमाडौँवासीको खानेपानीको समस्या समाधान गर्न आयोजनालाई सम्पन्न गरेरै छाड्ने बताउँदै आएको छ ।
 सुरुङ बनाउने ठेक्का पाउने कम्पनीले बोनस प्राप्त गर्ने गरी काम गरेमा २०७२ को भदौसम्ममा राजधानीमा मेलम्चीको पानी ल्याउन सकिनेछ । विस २०७१ भित्र आयोजना पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको भए पनि चाइना रेल्वे कम्पनीले लागत बढेको भन्दै बारम्बार रकम माग गरेपछि सरकारले बाध्य भई करार रद्द गर्नुपरेको थियो । त्यसअघि स्थानीयवासीको व्यवधानका कारण २०७० मा पूरा गर्ने योजनाका साथ थालिएको परियोजना प्रभावित भएको थियो । त्यसपछि सरकारले २०७१ भित्र परियोजना सम्पन्न गर्ने संशोधित कार्ययोजना सार्वजनिक गरेको थियो ।
 पूर्वाधार विकास, सामाजिक एवम् वातवरणीय सहयोग, संस्थागत सुधार र परियोजना कार्यान्वयनका लागि सर्वाधिक लगानी एसियाली विकास बैंकले १२ करोड, सरकारले ११ करोड ८० लाख, विश्व बैंकको आठ करोड, जापान बैंक फर इन्टरनेसनल कोअपरेसनको पाँच करोड २० लाख, नर्वेली विकास सहयोग संस्था -नोराड) ले दुई करोड ८० लाख अमेरिकी डलर प्रदान गर्न सहमति जनाइसकेका छन् । त्यसैगरी स्विडिस विकास सहयोग नियोग -सिडा), जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था -जाइका)ले क्रमशः दुई करोड ५० लाख र एक करोड असी लाख, अन्तर्राष्ट्रिय विकासका लागि पेट्रोलियम निर्यातक मुलुकहरूको सङ्गठन कोष -आइफाड/ओपक)ले एक करोड ४० लाख, नर्डिक डेभलपमेन्ट फन्डले ९० लाख डलर उपलब्ध गराउने छन् ।

परोपकारी कोषका लागि लण्डनमा शुभकामना साँझ

हेल्प नेपाल नेटवर्कको १० करोड परोपकारी अक्षयकोष सहयोगार्थ’हेल्पिङ हृयान्ड्स इन होउन्स्लो युकेले आयोजनामा भएको देउसी भैलो शुभकामना साँझ सम्पन्न भएको छ ।समितिका अध्यक्ष रामजी प्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएन युकेका अध्यक्ष कुल आचार्य , बिशिष्ट अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया प्रमुख भगीरथ योगी, अतिथी चिरन्जिबी ढकाल, बरिष्ठ पत्रकार शशी पौडेल, शान्ता बिनोद लामिछाने ,एम्पल इन्स्टिच्युका प्रमोद अधिकारी लगायतका अतिथीको साथमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रम आयोजकका तर्फबाट बोल्दै मोहनराज बरालले मन बचन र कर्मले सहयोग गर्नु हुने उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो । मात्र सुसेलेको भरमा यती धेरै सहयोगी मनहरुको भेलालाई अरु बृहतरुपमा अगाडि लैजाने समेत बताउनुभयो । देउसी भइलोबाट सुरु गरिएको साँस्कृतिक कार्यक्रममा गायक अभिनाश घिसिङ,सुजन पराजुली , किरण रमन डङ्गोलको प्रस्तुतीले दर्शकको मन छुन सफल रहृयो भने बिकास अधिकारी , जगत गुरुङ , बिनिता गुरुङ र साथीहरुको नृत्यले सबैको ध्यान केन्द्रीत गराएको थियो । कार्यक्रमवाट संकलित करिब १ लाख ५० हजार रुपैयाँ हेल्प नेपाल नेटवर्कलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको आर्थिक संयोजक भिम कुमार श्रेष्ठले बताउनु भयो ।
हेल्प नेपाल नेटवर्कका सल्लाहकार तथा समाजसेबी चिरन्जिबी ढकालले युवाहरुको पहलमा गरिएको यस प्रकारको कार्यक्रम बेलायतमा नै पहिलो र उदाहरणिय बन्न सफल भएको बताउनु भयो । कार्यक्रममा बरिष्ठ पत्रकार शशी पौडेलले युवाहरुलाई समेट्न हेल्पिङ हृयान्ड्स होउन्स्लोको प्रयासलाई सम्मान गर्दै, सुरु देखिनै संस्थालाई अनुशाशित र प्रजातान्त्रिक ढंगले चलाउनु पर्ने सुझाव दिनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया प्रमुख भगीरथ योगीले हेल्प नेपाल नेटवर्कले नेपालको सामाजिक बिकासमा पुर्‍याएको महत्वपूर्ण भूमिकाको बारेमा उल्लेख गरिएको बृतचित्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको औपचारिक समापन गर्दै सभापति रामजी बरालले परोपकारी काममा युवाहरुको संलग्नता अरु प्रभाबकारी रुपमा अगाडि बढाइने बताउनु भयो ।

आयो ८ महिनालाई साढे तीन खर्बको बजेट

प्रमुख विपक्षी दलहरूको विरोधबीच सरकारले गत वर्षकै कार्यक्रम राखेर ३ खर्ब ५१ अर्ब ९३ करोड ६७ लाख रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेको छ। यो गत असार ३१ मा ल्याएको एक तृतीयांश बजेटसहितको रकम हो।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पारित गरी प्रधानमन्त्री बाबुराम भट्टराईले पेस गरेको बजेट राष्ट्रपति डा. रामवरण यादवले स्वीकृत गर्नु भएको हो । यो चालु आर्थिक वर्षको बाँकी आठ महिनाका लागि ल्याएको दुई तिहाइ बजेट हो। सरकारले गत वर्षको बजेटमा भएको यथार्थ खर्चअनुरुप यो बजेट ल्याएको हो। यसमा कुनै नयाँ कार्यक्रम समावेश छैनन्।
सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९ लाई राष्ट्रपतिले स्वीकृत गरेपछि सरकारले साढे तीन खर्ब बजेट खर्च गर्ने अख्तियारी पाएको हो। यो बजेटमध्ये ५१ अर्ब २९ करोड ५७ लाख रुपैयाँ सञ्चित कोषमाथि व्ययभार हुने र ३ खर्ब ६४ करोड १० लाख रुपैयाँ सञ्चित कोषबाट खर्च गरिनेछ।बजेटमा चालुतर्फ २ खर्ब ४६ अर्ब ८७ करोड रुपैयाँ र पुँजीगततर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी वित्तीय व्यवस्थातर्फ ५३ अर्ब ७१ करोड ९५ लाख राखिएको छ।
 अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै राजस्व संकलन र वैदेशिक ऋण एवं अनुदान लिएर बजेट सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । आजको नागरिक दैनिकले समाचार छापेको छ । सरकारले आन्तरिक ऋण भने उठाउन पाउने छैन।’सरकारले सहमतिमा पूर्ण बजेट ल्याउन गरेका सबै प्रयास विपक्षी दलका कारण असफल भए,’ अर्थ मन्त्रालयमा आयोजित कार्यव|mममा पुनले भने, ‘पूर्ण बजेटको अभावमा अर्थतन्त्रमा पैदा हुने गतिहीनतालाई यो अध्यादेशले केही हदसम्म हटाउनेछ।’
पुराना सरकारले ल्याएको बजेटलाई चौध महिनासम्म बोकेर हिँडेका बताउँदै पुनले भन्नुभयो, ‘दलहरूको अवरोधका कारण ल्याएको दुई तिहाइ बजेटमा सरकार सन्तुष्ट छैन।’ उनले थप एक तृतीयांश बजेट र दुई तिहाइ बजेट ल्याउनुमा तात्विक भिन्नता नभएको बताए।बजेटमा चुनावका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, सरकारले राष्ट्रिय गौरवका परियोजनाहरूलाई महघघडव दिँदै पर्याप्त बजेट राखेको उनले जानकारी दिए। मध्यपहाडी लोकमार्ग, फास्टट्र्याक, भेरी बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ, काठमाडौं उपत्यका लगायत सहरी सडकजस्ता आयोजनाका लागि पर्याप्त बजेट राखेको छु,’ उहाँले भन्नभयो ।
बजेटमार्फत पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले प्रत्येक वर्ष नयाँ योजना समेट्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन। राजनीति र आर्थिक एजेन्डालाई एउटै टोकरीमा राख्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो।नयाँ कार्यक्रम राखेर बजेट नआउँदा निजी क्षेत्र पनि लगानी गर्न अन्योलमा छ।